प्रेम, यौन र जीवन

प्रेम, यौन र जीवन   

संसारमा गरिएकोे सबैभन्दा बढी परिभाषा जीवनको गरिएको छ । सबैभन्दा बढी विवादित विषय यौन हो र संसारका सबै मान्छेले अनुभूत गर्ने प्रेम हो । प्रेम, यौन र जीवनलाई सामाजिक धरातलमा जति धेरै बुझाउने प्रयास गरियो त्यति नै यो विषय जटिल बन्दै गयो । व्याख्या र विश्लेषणका ग्रन्थ जति थपिए भ्रम र संकुचनका आयाम पनि त्यति नै बढ्दै गए । त्यसैले प्रेम, यौन र जीवन के हो ? भन्ने विषय अहिले पनि अमूर्त नै रहिरहेको छ । मनोवैज्ञानिक विषयलाई सामाजिक दृष्टिले व्याख्या विश्लेषण गर्न खोज्दा त्यो अमूर्त बन्न पुग्नु अस्वाभाविक पनि होइन ।

प्रेम र जीवन
यहाँ चर्चा गर्न खोजिएको प्रेम करुणाको होइन भावनाको हो, जो हरेक मान्छेको जीवनको हिस्सा हो । जीवन भनेको मानिसको शरीर होइन उसको भोगाइ हो । एउटा व्यक्तिको जन्मदेखि मृत्युसम्मका भोगाइ र अनुभूतिको समग्रता नै त्यो व्यक्तिको जीवन हो जसमा प्रेम पनि पर्छ । प्रेम जीवनको सबैभन्दा महत्वपूर्ण पाटो हो । प्रेमबिनाको जीवन अपूर्णमात्र होइन, कल्पना नै गर्न सकिन्न । साधुमहात्माहरु जो विपरीतलिङ्गी प्रेमप्रति अनुदार भाव राख्छन् उनीहरुले दृश्यमा प्रेमका भावनाहरु लुकाउन सक्लान् तर उनीहरुको पनि भित्री मनमा प्रेमिल भावनाहरु उथलपुथल भइ नै रहेका हुन्छन् । 

प्रेम मानिसको चरित्रगत विशेषता हो । चारित्रिक विशेषता भएकै कारण हरेक व्यक्तिमा प्रेम तत्व हुन्छ । कुनै व्यक्तिका लागि जब प्रेमको वातावरण बन्छ तब प्रेम तत्व जागृत हुन्छ । प्रेम तत्व जति सक्रिय हुँदै जान्छ त्यति नै मन गहिराहीमा प्रवेश गर्दै जान्छ । प्रेमले मान्छेको भावनालाई शरीरको गहिराइमा पु¥याएर मन–मनको निकटता गराउँछ । 

प्रेम र जीवन एक अर्काका परिपूरक हुन् । जहाँ जीवन छ त्यहाँ प्रेम छ । जुन जीवनमा प्रेमको भाव व्यक्त हुँदैन त्यो प्राकृतिक होइन, कृत्रिम हो । कृत्रिमतामा शरीर मात्र हुन्छ, जीवन हुँदैन । जीवनको अर्थ नै जीवन्तता हो । प्रेम साश्वत सत्य हो । संसारका हरेक व्यक्तिमा प्रेम विषयक गुण हुने भएकाले नै प्रेमलाई साश्वत सत्य भनिएको हो । तर पनि कतिपय मानिसहरु कृत्रिम सत्य (जो हामी आँखाले देखिरहेका छौँ) को आडमा साश्वत सत्यलाई ढाक्न खोज्दछन् । यही कारणले प्रेम र जीवनमाथि धेरैको बुझाइ सामाजिक धरातलमा मात्र छ । मनोवैज्ञानिक धरातलप्रति मान्छे उदासिन छ । जब कि प्रेम सामाजिक विषय होइन यो त विशुद्ध मनोवैज्ञानिक विषय हो । 

प्रेम र यौन
कतिपय मानिसहरु प्रेम र यौनलाई छुट्टा–छुट्टै रुपमा हेर्छन् । प्रेमलाई करुणाको दृष्टिले मात्र हेर्नेहरु यौनलाई प्रेमको विपरीत ठान्छन् । यौनलाई मनोवैज्ञानिक आँखाले हेर्न नजान्नेहरु त यौनलाई विक्रिति नै पनि भन्छन् । आफू यौन समागमबाटै जन्मेर पनि यौनलाई छिःछिः र दुरदुर... गर्ने विद्वत् वर्गको जमात पनि यहाँ ठूलै छ । तर यौन र प्रेम फरक विषय होइनन् । प्रेम मानिसको चरित्रगत विशेषता हो भने यौन प्रेमको चरम रुप हो । प्रेमको शारीरिक अभिव्यक्ति यौन हो भने मनको तहमा गरिएको यौन समागम नै प्रेम हो । त्यसैले प्रेम र यौनलाई छुट्टै राख्नै सकिँदैन । 

तर पनि सबै अवस्थामा यौन प्रेमको रुप चाहिँ हुन सक्तैन । जब यौन शारीरिक तहमा मात्र प्रदर्शन गरिन्छ, तब त्यहाँ प्रेमको मात्रा गौण हुन्छ । शारीरिक तहमा गरिएको प्रेम पनि भद्दा हुन्छ भने मनोवैज्ञानिक तहमा गरिएको यौन समागम पनि अति कलात्मक हुन्छ । त्यही कलात्मक यौन समागम नै प्रेमको चरम रुप हो । 
प्रेमबिनाको यौन र यौनबिनाको प्रेम दुवै अपूर्ण हुन् । कतिपय आफूलाई आदर्श प्रेमका पक्षधर ठान्नेहरु प्रेममा यौनको छिटा नै पर्न नहुने ठान्छन् । तर तिनीहरु यो बुझ्दैनन् कि प्रेममा

यौनको अंश नहुँदो हो त प्रेम विपरीत लिङ्गसँग हुने नै थिएन । सायद यस्ता दृष्टिभ्रम भएकाहरु प्रेमलाई करुणाको तहमा मात्र बुझ्न सक्तछन् । विपरीत लिङ्गबाहेक अरुसँग हुने प्रेम भावनाको भन्दा पनि करुणाको तहमा हुन्छ । भावनात्मक निकटताको प्रेम विपरीतलिङ्गी प्रेम हो र त्यसमा कुनै न कुनै रुपमा यौनको घुलन हुन्छ । चाहे त्यो शारीरिक तहमा होस् वा मनोवैज्ञानिक तहमा नै किन नहोस् ।

यौनलाई शारीरिक आनन्दको क्रियाकलाप मान्ने र बुझ्नेहरु पनि छन् । पछिल्लो समय विश्वका कतिपय देशमा यौन पर्यटनका कुराहरु आइरहेका छन् । विश्व यौनबजारमा यौन पारखीहरुको मेला चलेको छ । तर यी बजारमा बिक्री हुने यौनहरु सबै सतही आनन्दका कुरा हुन् । जहाँ विना प्रेम यौन समागम हुन्छ, त्यसमा आनन्दको चरमता हुन सक्तैन ।

यौनमा उर्जा चाहिन्छ । बजारको यौनमा उर्जा हुँदैन किन कि त्यहाँ मन हुँदैन, शरीर मात्र हुन्छ, मन नभएपछि प्रेम हुँदैन, विना मनको शरीरले यौनमा उर्जा दिन सक्तैन । विना प्रेमको यौनले उर्जा समाप्त गरिदिन्छ । प्रेमसहितको यौनमा मात्र उर्जा थपिन्छ । त्यसैले जुन यौन समागममा प्रेम छैन, त्यसमा चरम सुख छैन । शरीरले यौनको वास्तविक आनन्द लिनै सक्तैन । शरीरले लिएको आनन्द सतही आनन्द मात्र हो । यौनमा आनन्दको लागि मानिस शारीरिक रुपमा भन्दा मनोवैज्ञानिक रुपमा सबल हुनु जरुरी छ । त्यो सबलता प्रेमको भावनाले मात्र जागृत गराउँछ ।

चरम प्रेममा शरीर र मनको घुलन हुन्छ । प्रेम विनाको यौन समागम भनेको यौन दरिद्रता हो । चाहे आफ्नै पति वा पत्नीबीच नै किन नहोस् । बिनाप्रेम यौन क्रियाकलाप हुन्छ भने ती प्रेमका गरिब र यौनका प्यासीहरु मात्र हुन् । जुन यौनमा गरिबी, दरिद्रता वा धनकोे हाबी हुन्छ, त्यो विकृत यौन हो । यौनमा प्रेमको घुलन चाहिन्छ न कि धनको । 

प्रेम र विवाह
प्रेम र विवाह विल्कुलै भिन्न कुरा हुन् । प्रेम भनेको भावनाको मिलन हो भने विवाह सामाजिक मिलन । कतिपयले त विवाहलाई मिलन भन्दा पनि सम्झौता भन्ने गर्दछन् । पछिल्लो समय अधिकांश प्रेमसम्बन्धहरु विवाहमा परिणत भैरहेका छन् । विवाहमा परिणत भएका यी प्रेम कहानीहरु सामाजिक दृष्टिमा सुन्दर पनि लाग्दछन् । तर प्रेम जस्तो स्वतस्फूर्त विषयलाई विवाह जस्तो सम्झौतामा परिणत गर्दा प्रेम कति बाँच्दछ र कति मर्दछ भन्ने विषयमा चाहिँ कसैले पनि विचार गरेको पाइँदैन । के विवाहपछि पनि विवाह अगाडिको स्वच्छन्द प्रेम बाँचिरहन्छ त ? प्रेम र यौनका गुरु भनेर कहलिएका ओशो भन्छन्– ‘प्रेम जीवन्त हुन्छ विवाह मृत ।’ उनका अनुसार विवाहपछिको जीवनमा प्रेमको लास मात्र बाँकी रहन्छ । लासहरु बीच जीवन्तता खोज्नु नै मूर्खता हो । उनको दाबी यो पनि छ कि प्रेमिका जीवन्त हुन्छे, पत्नी मृत हुन्छे ।

ओशोको भनाइ जतिसुकै अप्रिय लागे पनि यसमा सत्यताको अंश छ । ‘मान्छे स्वतन्त्र जन्मन्छ र पछि ऊ बन्धनमा पर्दछ’ भन्ने दार्शनिक रुसोको भनाइ कतै लागू हुन्छ भने त्यो सबैभन्दा बढी वैवाहिक जीवनमा लागू हुन्छ । हिन्दूू संस्कारमा त विवाहलाई ‘विवाह बन्धन’ भन्ने पनि गरिन्छ । प्रेमी¬–प्रेमिकाबाट पति–पत्नी भएपछि कुनै न कुनै रुपमा एक अर्काप्रतिको कर्तव्यको बन्धनमा बाँधिनु परेकोले नै बन्धन भनिएको हो । विवाहलाई एक प्रकारको खुला कारागार ठान्नेहरु पनि प्रसस्तै छन् । विवाह पछाडि आफूले चाहेजस्तो प्राकृतिक जीवन बाँच्न नपाइने हुनाले विवाह अगाडि नै गर्नुपर्ने जति गरी सकेर मात्र विवाह गर्ने भनेर ढिलो विवाह गर्नेेहरु पनि पछिल्लो समयमा बढिरहेका छन् । ओशो त विवाहलाई कृत्रिम संस्थाको संज्ञा नै दिन्छन् ।

विवाहपूर्वको प्रेममा समान हैसियतमा रहेका दुई व्यक्ति विवाहपश्चात् फरक फरक भूमिकामा पुग्दछन् । भूमिका फरक हुन्छ भने व्यवहार पनि फरक हुनु स्वभाविकै हो । विवाह अगाडि मनोवैज्ञानिक धरातलमा एकअर्कालाई स्वच्छन्द प्रेम गरिरहेका प्रेमी–पे्रमिका जब पति–पत्नीमा परिणत हुन्छन्, तब व्यवहार पनि प्रेमी–प्रेमिकाको होइन पति–पत्नीकै हुन्छ । हाम्रै समाज सापेक्षतामा हेर्ने हो भने पनि विवाहपश्चात पति मालिक बन्छ पत्नी वस्तु बन्छे । अनि मालिकको इच्छा पूरा गरिदिनु वस्तुको कर्तव्य हुन्छ । प्रेम गर्नेहरु पे्रमी–प्रेमिका नरहेर मालिक र वस्तुमा परिणत हुन्छन् भने त्यहाँ प्रेम नै कहाँ बाँकी रहन्छ र ?

विवाहपूर्वको प्रेम खुला गगनका उड्ने स्वच्छन्द पन्छी हो भने विवाहपश्चातको प्रेम पिँजडामा जकडिएको पन्छीजस्तै हो । पिँजडामा जकडिएको पन्छी पनि पन्छी नै भए पनि उसले पन्छीले जस्तो गरी कहाँ नै बाँच्न पाएको छ र ? पिँजडामा कँुजिएको पन्छी जसरी पन्छीजस्तो भएर बाँच्न पाएको हुँदैन विवाहपश्चात् प्रेमका अवशेषहरु बाँकी नै रहे पनि त्यो कर्तव्यको भारीले थिचिएर टाक्सिएको हुन्छ । यसैले विवाहपछिको प्रेम एउटा सम्झौता मात्र हो । तर प्रेमको गुण सम्झौता होइन, स्वतस्फूर्त बग्नु हो । पोखरीको पानी जस्तो बारिएर बस्न चाहँदैन प्रेम, नदीको पानी जस्तो बहन चाहन्छ । 

विवाहपछिको प्रेम
नेपाली समाज पूर्वीय धर्म, संस्कृति र परम्परामा आधारित छ । पश्चिमा संस्कृतिमा झैँ प्रेमको मामिलामा हाम्रो समाज त्यति पूर्ण उदार छैन । हाम्रो समाज भन्छ– ‘विवाहपश्चात् पतिले पत्नीलाई र पत्नीले पतिलाई मात्र प्रेम गर ।’ विवाहपश्चात्को परपुरुष वा परस्त्री प्रेमलाई हाम्रो समाज पचाउँदैन । सामाजिक आँखाले हेर्दा विवाहपश्चात्को परपुरुष स्त्री प्रेम अनैतिक देखिन्छ । कारण, यसले सामाजिक मूल्य मान्यतालाई ध्वस्त पारिरहेको छ । प्रेम गर्नेहरु कर्तव्यविमुख भैदिँदा वा उत्छृङ्खल हुन पुग्दा समाजको नकारात्मक धारणालाई अन्यथा मान्न पनि सकिँदैन ।

तर हाम्रो सामाजिक मान्यतालाई थाँति राखेर सोच्दा विवाहपछिको प्रेम पनि स्वाभाविक ठहर्छ । विवाहपछि पतिले पत्नीलाई र पत्नीले पतिलाई मात्र माया गर्नुपर्छ भन्ने कुरा सामाजिक रुपमा जति प्रिय लाग्छ, मनोवैज्ञानिक आँखामा त्यत्तिकै अप्राकृतिक पनि देखिन्छ । प्रेम गर्न मनको आकर्षण चाहिन्छ । कोही व्यक्तिबीच मनको आकर्षण छैन, चाहे त्यो पति पत्नी नै किन नहोस् भने त्यहाँ करुणा र दयाको प्रेम त बाँकी रहला तर भावनात्मक प्रेम बाँकी रहन्न । भावनाको प्रेम भनेको जोसँग मनको आकर्षण हुन्छ त्यहीसँग हुने कुरा हो ।

यसकारण पति वा पत्नी दुवैले आफ्नो पति–पत्नीबाट प्रेम प्राप्त गर्नको लागि आफ्नो विवाहको लाइसेन्स तेस्र्याएर अधिकार खोजेर हुँदैन भावनात्मक मायाले एक अर्कालाई जित्न सक्नुपर्दछ ।
प्रेमका विश्लेषकहरु भन्छन्– ‘प्रेम भनेको सम्बन्ध होइन, मनस्थिति हो ।’ कसैले तोकिदिएको व्यक्तिसँग सम्बन्ध त होला तर प्रेम हुन सक्तैन, किनभने समाजले तोकिदिएको व्यक्तिसँग आफ्नो मन नजोडिन सक्तछ । प्रेम बुद्धिको विषय होइन, जसले दिमागले काम गरोस् । प्रेम त हृदयको विषय हो । प्रेम सामाजिक नियमलाई मान्दैन यसले न त विज्ञानका

तर्क र प्रमाणहरुलाई नै स्थान दिन्छ । हृदयको विषय भएकाले प्रेम निर्वन्धन बगिरहन्छ जताततै । भन्ने गरिन्छ– ‘प्रेम गर्ने मन अराजक हुन्छ ।’
जसरी खुला गगनमा स्वच्छन्द उडिरहेको पन्छीको लागि उड्न पाउने सीमारेखा तोक्न सकिन्न, त्यसैगरी प्रेम अमूक व्यक्तिसँग मात्र गर्नुपर्छ भनेर सीमारेखामा बाँध्न सकिन्न । प्रेम चेतनमाथि अचेतनको विजय हो । मान्छेको नब्बे प्रतिशत मन अचेतन र बाँकी दश प्रतिशत मन चेतन मन हो । नब्बे प्रतिशतको मनको अराजक वेगलाई दश प्रतिशत मनको नैतिकताको पर्खालले कहाँ रोक्न सक्तछ र ? यसैले अचेतन मन बन्धनहीन हुन्छ, बन्धनहीन मनले जोसँग पनि प्रेम गर्न सक्तछ । त्यसैले त सामाजिक आँखाले हेर्नेहरु ‘प्रेम अन्धो हुन्छ’ भन्छन् ।

प्रेम र समाज
प्रेम के हो भन्ने विषयमा हरेक समाजका आ–आफ्नै धारणाहरु छन् । कुनै समाज प्रेमप्रति उदार हुन्छ र कुनै समाज अनुदार । हाम्रो समाज प्रेमप्रति मिश्रित धारणा राख्दछ । कुनै समय थियो प्रेम गर्नुलाई उत्ताउलोपनाको संज्ञा दिइन्थ्यो । प्रेम विवाह गर्नेलाई ‘पोइल गएको’ भन्ने पुस्ताको अवशेष अझै बाँकी छ । नवपुस्ताले प्रेम विवाहलाई ‘पोइल गएको’ भन्न त छोड्यो तर पनि प्रेमलाई हेर्ने आँखा भने सामजिक नै छ । कुनै व्यक्तिले कसैसँग प्रेम गर्यो भने कोसँग प्रेम गर्यो ? कस्तो मान्छेसँग प्रेम गर्यो ? प्रेम गरेको मान्छे कति धनी हो ? प्रेम गरेको मान्छे प्रतिष्ठित हो कि होइन ? आदि जस्ता प्रश्नहरु अझै पनि उठिरहेका छन् । तर मन त्यस्तो यन्त्र होइन जसले समाजले तोकिदिएको प्रतिष्ठित र धनी मान्छेसँग प्रेम गरोस् । मनले त त्योसँग प्रेम गर्दछ जोसँग मनको निकटता हुन्छ । धन, प्रतिष्ठा र पद त मनका विषय नै होइनन् मात्र समाजका विषय हुन् । यसकारण प्रेम समाजिक विषय होइन मनोवैज्ञानिक विषय हो भनेर स्वीकार गर्ने हो भने प्रेमलाई मनोवैज्ञानिक आँखाले नै हेर्नुपर्दछ । सामाजिक बन्धनमा प्रेम टाक्सिन्छ । मनोवैज्ञानिक धरातल नै प्रेमको लागि उर्वर भूमि हो । 

प्रेम र समाज न छुट्याउन सकिने न मिलाउन सकिने जस्ता विषय छन् । प्रेम सामाजिक मान्छेले नै गर्ने भए पनि प्रेमको महासागरमा डुब्दै गएपछि त्यो सामाजिक मान्छे पनि मनोवैज्ञानिक मान्छे बन्दछ र समाजलाई पूर्णतः भुलिदिन्छ । प्रेमलाई सामाजिक धरातलमा न्याय नमिल्ने भएकाले नै प्रेमिप्रेमिकाहरु समाजलाई भुल्ने गर्दछन् । हाम्रो जस्तो सामाजिक आँखाले त प्रेमलाई चिन्नै सक्तैैन । यसैले हाम्रो समाज प्रेमको साधक होइन बरु बाधक हो । 

प्रेमलाई सामाजिक होइन भनेपछि एउटा प्रश्न चाहिँ अवश्य जन्मन्छ । के प्रेम स्वच्छन्द हो भने जसले जहाँ जोसँग पनि प्रेम गर्न सक्तछ त ? यो प्रश्नको उत्तर त्यति सरल छैन तर असम्भव पनि छैन । हरेक मान्छेमा प्रेम तत्व छ र त्यो तत्व अर्को त्यस्तै तत्वगत निकटता भएको मान्छेसँगको भावनात्मक अनुभूतिले मात्र व्युँझन्छ, न कि समाजले तोकिदिएको मान्छेसँग ब्यूँझियोस् । एउटा व्यक्तिको शरीरलाई अर्को व्यक्तिको शरीरसँग निकट हुन वा टाढा रहन बाध्य पार्न वा बन्देज लगाउन सकिएला तर के उनीहरुको बीचको मनलाई बन्देज लगाउन सकिएला र ? सकिँदैन । बन्देजका जतिसुकै बलिया समाजिक पर्खाल भए पनि मनले तोडिदिन्छ । मान्छेको अवचेतन मन समाजको त कुरै छाडौँ स्वयम् आफ्नो वशमा समेत हुँदैन । तब मनमाथि बन्देज किन ? बन्देजले संसारमा प्रेम रोकिएको छ र ? मात्र वियोगान्त भएको छ ।

प्रतिकृया दिनुहोस

प्रेम, यौन र जीवन

गोविन्द अधिकारी हेटौंडा नगरपालिकाले प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्यहरूलाई ‘सरकारी दररेट‘का घडेरी दिने निर्णय गरेछ । प्रदेशको राजधानी